संविदामा दृढता (#11108)

तिम्रो जय होस्, हे अनन्तताका सम्राट्; राष्ट्रहरूका निर्माता तथा प्रत्येक अस्थिधारीका सृष्टिकर्ता ! सारा मानव– जातिलाई आफ्नो वैभव तथा गौरवशाली क्षितिजतर्फ बोलाउने र तिम्रा सेवकहरूलाई आफ्ना कृपा र अनुग्रहहरूको दरबारतिर उन्मुख गराउने तिम्रो त्यो नाम लिएर म तिमीसित प्रार्थना गर्दछु कि मेरो गणना तीमध्ये गराऊ जसले तिमीबाहेक अरू सबै कुराहरूबाट आफूलाई अलग्ग गराएका छन्, तिमीतिर आपूmलाई अग्रसर गराएका छन् र तिमीले आज्ञा गरेका दुर्भाग्यहरूले पनि तिम्रा उपहारहरू प्राप्त गर्ने दिशातिर उन्मुख हुन बाट रोक्न सकेका छैनन् । 

हे मेरा प्रभु ! मैले तिम्रो दयाको पात्रको बिँडमा समातेको छु र तिम्रो अनुग्रहको दौराको फेरोमा बलियोसित पक्डेको छु । तिमीबाहेक अरू सबैको मायामोहलाई मबाट पखाल्ने गरी ममाथि तिम्रो दयाको मेघबाट वृष्टि गरिदेऊ र मलाई उनीतर्फ उन्मुख हुन सक्ने बनाऊ जो सारा मानव– जातिको आराधनाको केन्द्रविन्दु हुन् जसको विरुद्ध विद्रोह भड्काउनेहरूको ताँती लगाइएको छ, जसले तिम्रो संविदालाई भगं गरेका छन् र तिमीलाई र तिम्रा चिन्हहरूमा अविश्वास गरेका छन् । 

हे मेरा प्रभु ! तिम्रा दिनहरूमा मलाई तिम्रो वस्त्रको सुवासबाट वञ्चित नगराऊ र तिम्रो मुखमण्डलको ज्योति चम्केको बेला तिम्रो प्रकटीकरणको उच्छ्वास लिनबाट मलाई वञ्चित नगराऊ । जे इच्छा लाग्छ त्यो गर्न तिमी सक्षम छौ । 

तिम्रो इच्छालाई कसैले पनि रोक्न सक्दैन र आफ्नो शक्तिद्वारा तिमीले निर्धारित गरेका उद्देश्यलाई कसैले पनि टार्न सक्दैन ।

-Bahá'u'lláh
-----------------------

संविदामा दृढता (#11109)

उनी नै छन् शक्तिशाली, क्षमाशील र करुणामय ! हे ईश्वर, मेरा ईश्वर ! आफ्ना सेवकहरूलाई भ्रम र मिथ्याचारको दलदलमा फँसेको देखिरहेका छौ; खोइ कहाँ छ तिम्रो दिव्य मार्गदर्शनको प्रकाश ? हे तिमी विश्वाकांक्षा ! तिनका निःसहायपन र दुर्बलतालाई तिमी राम्ररी जान्दछौ, खोई कहाँ छ तिम्रो शक्ति ? हे तिमी जसको हातमा स्वर्ग र पृथ्वीका शक्तिहरू छन् । 

हे स्वामी, मरो प्रभु ! तिम्रो प्रेमाद्र दयाको प्रकाशको चमकद्वारा, तिम्रो ज्ञान र बुद्धिमत्ताको महासागरमा उर्लिरहेका छालहरूद्वारा र तिम्रो साम्राज्यका मानिसहरूलाई प्रभावित गर्ने तिम्रो वचनद्वारा म तिमीसित याचना गदर्छु कि मलाई पनि तिम्रो पुस्तकमा निर्दिष्ट आज्ञापालन गर्नेहरू मध्येको एक बनाऊ । ती जसले तिम्रो संविदा तथा तिम्रा नियमहरू पालन गरिरहेका छन्, तिम्रो सदिच्छा पूरा गर्न हतारिएका छन् र तिम्रा विश्वासिलाहरूको लागि जे निर्धारित गरेका छौ मेरो लागि पनि त्यही निर्धारित गरिदेऊ । जे इच्छा गर्दछौ त्यही गर्न तिमी सक्षम छौ । हे सर्व–ज्ञाता, सर्व– बुद्धिमान्, तिमीबाहके अर्काे कुनै ईश्वर छैन । 

हे स्वामी, आफ्नो अनुग्रहद्वारा मेरो लागि त्यस्तो आज्ञा गर जसले गर्दा यो लोक र परलोकमा पनि मेरो उन्नति होस् र जसले मलाई तिमीतिर आकर्षित गराओस्, हे तिमी जो सबैका स्वामी हौ । अद्वितीय, शक्तिशाली, स्तुत्य, तिमीबाहके अर्को ईश्वर छैन ।

-Bahá'u'lláh
-----------------------

संविदामा दृढता (#11110)

हे मेरा स्वामी र मेरा आशा ! तिम्रो शक्तिशाली संविदा पालनमा अडिग रहन, तिम्रो धर्मप्रति आस्थावान् रहन र तिम्रो प्रकाशद्वारा जगमगाइरहेको पुस्तकमा तिमीले लेखेका आदेशहरू पूरा गर्न तिम्रा प्रियजनलाई सहायता गर ताकि तिनीहरू मार्गदर्शनका ध्वजाहरू, वैकुण्ठ निवासीहरूका हातमा भएका बत्तीहरू, तिम्रा अपार बुद्धिका कुण्डहरू र पवित्र आकाशमा चम्किने मार्गदर्शक ताराहरू बन्न सकून् । 

वस्तुतः तिमी अजेय, शक्तिमान्, सबैलाई आफ्नो वशमा राख्नेवाला हौ ।

-`Abdu'l-Bahá
-----------------------

